संसद् भवनभित्र प्रवेश गरे जेन–जी : बानेश्वर क्षेत्रमा कर्फ्यु
काठमाडौँ । सामाजिक सञ्जालमार्फत सुरु भएको जेन–जी पुस्ताको आन्दोलन सोमबार संसद् भवनसम्म पुगेको छ। बिहानदेखि माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका उनीहरू दिउँसो प्रहरीले गरेको रोकथाम तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
प्रहरी घेराबन्दीबीच आन्दोलनकारी गेट चढेर संसद् परिसरमा पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् ।
कर्फ्यु आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आदेशअनुसार तोकिएको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन वा कुनै पनि भीडभाड निषेध गरिएको छ । साथै तोकिएको क्षेत्रमा सर्वसाधारणलाई आवतजावत नगर्न आग्रह गरिएको छ ।
कर्फ्यु क्षेत्र
१. बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
२. बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
३. बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
४. बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म ।








