जेन–जी आन्दोलनमा गाेली लागेर एक जनाकाे मृत्यु : बानेश्वर चोक तनावग्रस्त
काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उत्रिएको ‘जेन–जी आन्दोलन’ झन् उग्र बनेको छ । सोमबार दिउँसो बानेश्वर चोकमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि स्थिति थप तनावग्रस्त बनेको छ ।
सरकारले कर्फ्यू आदेश जारी गरेपनि त्यसको प्रभाव देखिएको छैन । कर्फ्यू अवज्ञा गर्दै ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । उनीहरू आक्रोशित मुद्रामा नारा लगाउँदै अगाडि बढिरहेका छन् ।
संसद भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गर्दै भीड नियन्त्रणको प्रयास गरिरहेको छ । तर, उल्टै भिड झन् आक्रामक बनेको छ ।
प्रदर्शनकारीहरूले बानेश्वर चोक नजिकै रहेको संसद भवन परिसरमा बारम्बार आगजनी गर्ने प्रयास गरेका छन् । प्रहरीले नियन्त्रण गर्न खोज्दा पटक–पटक झडप भएको छ । भागदौडमा धेरै घाइते भएका छन्, तर उपचारका लागि तत्काल अस्पताल लैजाने व्यवस्था सहज हुन सकेको छैन ।
स्थितिलाई नियन्त्रणमा लिन सेना समेत परिचालन गरिएको छ । तर, मृत्युको घटनापछि आन्दोलनकारीहरू अझै आक्रोशित बनेका छन् र वातावरण अस्थिर छ ।








