रुपन्देहीमा कर्फ्यू लागू : बुटवल–भैरहवा क्षेत्रमा आवतजावतमा पूर्ण रोक
रुपन्देही । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार लागू गरिएको यस आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, सभा, बैठक वा घेराउ गर्न पूर्णरूपमा रोक लगाइएको छ ।
बुटवल क्षेत्रमा पेट्रोल पम्पदेखि धागो कारखाना पुलसम्म पूर्व, बेलवास चोकसम्म पश्चिम, चिडिया खोलासम्म उत्तर र मंगलापुरसम्म दक्षिणसम्म कर्फ्यू लागू गरिएको छ ।
भैरहवा क्षेत्रमा भने रोहिणी खोला पुलदेखि बेथरी पुलसम्म पश्चिम, बुद्धचोकसम्म उत्तर र मेउडीहवासम्म दक्षिणसम्म कर्फ्यू कायम गरिएको छ । साथै, बुटवल–बेलहिया सडक खण्डको दयाँबाँया १०० मिटर क्षेत्रमा समेत कर्फ्यू लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति कायम राख्न र तोकिएका क्षेत्रहरूमा कर्फ्यू पालन गर्न अनुरोध गरेको छ।








