२० मंसिर २०८२, शनिबार

जेन-जी प्रदर्शन : मृतककाे सङ्ख्या १८ पुग्याे, २५६ जना घाइते

प्रकाशित मिति :  8 September, 2025 6:16 pm


काठमाडाैँ । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौँमा कर्फ्यू जारी भए पनि प्रदर्शनकारीहरूले सडक छाडेका छैनन् । संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गरेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढेको छ। पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौँमा १६ जनाको मृत्यु भएको छ भने उपत्यकाबाहिरका अन्य जिल्लामा २ जनाको मृत्यु भएको छ । हालसम्म घाइतेको संख्या २५६ पुगेको छ।

अस्पताल अनुसार मृतक र घाइतेको विवरण यस प्रकार छ :

  • सिभिल अस्पताल : ३ जनाको मृत्यु, १०० घाइते, १५ जना गम्भीर घाइते ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर
  • ट्रमा सेन्टर : ८ जनाको मृत्यु, ४९ घाइते, विपद् योजना लागू
  • एभरेष्ट अस्पताल : ३ जनाको मृत्यु, ३४ घाइते (७ जनाको अवस्था गम्भीर)
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान : ४ जना घाइते उपचारत
  • काठमाडौँ मेडिकल कलेज (केमएसी) : २ जनाको मृत्यु, ३२ घाइते, ६ जनाको शल्यक्रिया आवश्यक
  • त्रिवि शिक्षण अस्पताल : १ जनाको मृत्यु, १८ घाइते
  • नर्भिक अन्तर्राष्ट्रिय अस्पताल : ३ घाइते
  • काठमाडौँ उपत्यकाबाहिर : पोखरा गण्डकी अस्पताल १ घाइते, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २ घाइते, झापा दमक ७ घाइते
  • इटहरी : २ जनाको मृत्यु प्रहरीको गोली लागेर

स्वास्थ्य मन्त्रालयले घाइतेको उपचारमा आवश्यक सबै कदम चालिरहेको जनाएको छ। प्रदर्शनकारीहरूले सडकमा उत्रिएका कारण स्थिति अझै तनावपूर्ण रहेको र सुरक्षाकर्मीले बल प्रयोग गरेको समाचार प्राप्त भएको छ।



प्रतिक्रिया दिनुहोस !