काठमाडौँमा अनिश्चितकालीन कर्फ्यू जारी, प्रशासनद्वारा क्षेत्र विस्तार
काठमाडौँ । जेन–जीले काठमाडौँमा सोमबार गरेको प्रदर्शनपछि उत्पन्न सुरक्षा जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।
प्रशासनले दिएको सूचनामा काठमाडौँ महानगरको चक्रपथभित्र पर्ने बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको सम्पूर्ण भू-भागमा कर्फ्यू लागू हुने उल्लेख गरिएको छ ।
कर्फ्यू अवधिभर अत्यावश्यक सेवा सञ्चालनमा भने केही सवारी साधनलाई अनुमती दिइएको छ । यसमा एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमन समावेश छ । यी सवारी साधनहरुको आवागमन सुरक्षा बलहरुको सहजीकरणमा हुनेछ ।
सोमबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको थियो । प्रदर्शनपछि प्रशासनले तत्काल बानेश्वर क्षेत्रमा कर्फ्यू लागू गरेको थियो भने मध्यराति यसलाई मंगलबार बिहान पाँच बजेसम्म लम्बाइएको थियो ।
मंगलबार जारी सूचना अनुसार कर्फ्यू लागू हुने क्षेत्र अझै बढाइएको छ । प्रशासनले नागरिकहरुलाई शान्तिपूर्ण रुपमा घरभित्र बस्न र अनावश्यक रुपमा सडकमा ननिस्कन आह्वान गरेको छ ।








