२० मंसिर २०८२, शनिबार

जेन–जी प्रदर्शन : प्रचण्ड निवास तोडफोड

प्रकाशित मिति :  9 September, 2025 10:44 am


ललितपुर । जेन–जी पुस्ताका प्रदर्शनकारीले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर खुमलटारस्थित निवासमा तोडफोड गरेका छन् ।

नजिकैको प्रहरी बिटमा आगजनी गर्दै अघि बढेको समूहले प्रचण्डको निवासमा ढुंगामुढा गरेको र गेट अगाडि उभिएर तोडफोड जारी राखेको छ ।

आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगजनी र प्रदर्शनको क्रम निरन्तर जारी छ । एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा पनि आगजनी गरेको छ ।

त्यसैगरी, आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा समेत आगजनी भएको छ । नेपाल पत्रकार महासंघ, ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार ललितपुर बिहानैदेखि अशान्त छ। अध्यक्ष कार्कीले भने, “प्रदर्शनको प्रभाव गाउँहरुमा समेत परेको छ। गाउँहरुमा र भित्री सडकहरुमा बन्दको अवस्था देखिएको छ ।”

प्रहरी र सुरक्षा निकायले घटनालाई नियन्त्रणमा लिन उच्च सतर्कता अपनाएको भए पनि प्रदर्शनकारीको गतिविधि अझै जारी रहेको छ। प्रशासनले स्थानीयवासीलाई अनावश्यक रुपमा सडकमा ननिस्किन र शान्तिपूर्ण रहन आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस !