१९ मंसिर २०८२, शुक्रबार

जेन–जी आन्दोलन : लुटपाट र तोडफोड स्वीकार्य छैन, संयोजक यादवको स्पष्टिकरण

प्रकाशित मिति :  10 September, 2025 7:02 am


काठमाडौँ । जेन–जी आन्दोलनका संयोजक पुरुषोत्तम यादवले आन्दोलनका क्रममा देखिएका लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई आन्दोलनको हिस्सा नभएको स्पष्ट पारेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै यादवले केही तत्त्वहरूले आन्दोलनको नाममा अशान्ति सिर्जना गर्न खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले भने, “लुटपाट हाम्रो आन्दोलनको हिस्सा कहिल्यै होइन । त्यसैले हाम्रो साथीहरू र आम राष्ट्रवादी साथीहरूलाई अनुरोध छ, यस्ता कार्यलाई हाम्रो आन्दोलनसँग जोडेर नहेर्नुहोस् ।”

उनले जारी गरेको विज्ञप्तिमा आन्दोलनको नाममा हुने तोडफोड, लुटपाट र सार्वजनिक सम्पत्ति नष्ट गर्ने गतिविधिलाई कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “हामी नयाँ नेपाल निर्माणको नजिक पुगेका छौं । तर केही तत्त्वहरूले हाम्रो आन्दोलनलाई असफल बनाउन यस्ता प्रयास गरिरहेका छन् भन्ने बुझिएको छ ।”

यादवले आम नागरिकलाई सचेत रहन तथा आफ्नो वरिपरि पनि सचेतना फैलाउन आग्रह गरेका छन् । साथै, उनले सम्बन्धित पक्षहरूसँग बुधबारदेखि वार्ताको चरणमा प्रवेश गर्ने जानकारी पनि दिएका छन् ।

विज्ञप्तिबाट हाल भइरहेका तोडफोड र आगजनी घटनाहरू जेन–जी आन्दोलनको आधिकारिक नेतृत्वमा नभएको स्पष्ट गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !