२० मंसिर २०८२, शनिबार

जेन-जी आन्दोलन : मृत्यु हुनेको संख्या ५१ पुग्याे, मृतककाे पोस्टमार्टम सुरु

प्रकाशित मिति :  12 September, 2025 1:36 pm


काठमाडाैँ । जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको छ। नेपाल प्रहरीले हालसम्म ५१ जनाको मृत्यु पुष्टि गरेको छ । मृतकमध्ये तीन जना प्रहरी र एक भारतीय महिला समेत परेका छन् ।

पहिलो दिन मात्र २१ जनाको मृत्यु भएको थियो, जसमा ९ जना कैदी र बाल सुधार गृहका पाँच जना थिए । बाँकी मृतक जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच सोमबारको प्रदर्शनमा मृत्यु भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा हालसम्म ३६ वटा शव पुगेका छन् । विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार तीमध्ये ९ वटा शवको पोस्टमार्टम सुरु भइसकेको छ ।

डा. चौधरीका अनुसार आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंबाट शव बुझ्ने र पोस्टमार्टम गर्ने पत्र ल्याएपछि मात्र प्रक्रिया अघि बढाइन्छ । अहिले नौ जना आफन्तले पत्र ल्याएपछि उनीहरूको शवको पोष्टमार्टम गरी आजै बुझाउने तयारी गरिएको छ।

पोस्टमार्टममा मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरेर मृत्युको कारण पत्ता लगाइन्छ । बाहिरी जाँचमा मृतकले लगाएको लुगा, चोटपटक, शारीरिक परिवर्तन, मुख–नाकबाट आएको तरल पदार्थ लगायत नोट गरिन्छ । त्यसपछि छाती, पेट, टाउको खोलेर सबै अंग परीक्षण गरिन्छ ।

गोली लागेका केसमा समेत नियमित प्रकृयाअनुसार इन्ट्री र एक्जिट पोइन्ट, एंगल र अन्य विवरण संकलन गरिने डा. चौधरीले बताए ।

उनका अनुसार यो विषय अन्तर्राष्ट्रिय रूपमा समेत संवेदनशील बनेकाले पोस्टमार्टम अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिनेछ, जसले वैज्ञानिक आधारमा निष्कर्षलाई प्रमाणित गर्छ । सम्पूर्ण परीक्षणपछि अंगहरूलाई पुनः मिलाएर शव विधिपूर्वक परिवारलाई बुझाइनेछ ।

मन्त्रालयका अनुसार हालसम्म १ हजार ७७१ जना घाइते भएका छन्, जसमा २८४ जना उपचारका लागि अस्पतालमा भर्ना छन् । आन्दोलनबाट बढ्दो जनधनको क्षतिले मुलुकमा गहिरो पीडा थपेको छ भने पोस्टमार्टमबाट वैज्ञानिक प्रमाण संकलन गरी घटनाको वास्तविक कारण र जिम्मेवारी स्पष्ट पार्ने प्रयास सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !