नयाँ बसपार्कबाट बस सञ्चालन सुरु
काठमाडौँ । जेन-जी आन्दोलनका कारण निषेधाज्ञा र कर्फ्यु लगाइएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन क्रमशः सञ्चालनमा आउन थालेका छन् ।
गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस आज बिहानदेखि सञ्चालनमा आएका हुन् । लोत्से बहुउद्देश्यीय प्रालीका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्ममा मात्रै उपत्यकाबाट बाहिरिने दर्जनौँ बस प्रस्थान गरेका छन् ।
यसअघि यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन दिएको थियो तर आजदेखि केही सवारीसाधन आफूखुसी बाटो लागेको महासङ्घले जनाएको छ ।
महासङ्घका पदाधिकारीहरूका अनुसार दशैंको मुखमै परेको आन्दोलनले यात्रु र व्यवसायी दुबैलाई कठिनाइ भएको छ । उनले भने, “सार्वजनिक यातायातलाई सुरक्षित र सहज बनाउन सुरक्षा निकाय तथा मन्त्रालयसँग समन्वय भइरहेको छ । संस्थागत रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।”
यसैबीच, यात्रुहरू भने लामो दूरीको यात्रामा जान पाउनुमा सहज महसुस गरिरहेका छन् । आन्दोलनका कारण करिब एक सातादेखि ठप्प भएको यातायात आज आंशिक रुपमा चल्न थालेपछि राजधानी छाड्ने यात्रुहरूको भीड नयाँ बसपार्कमा देखिएको छ ।








