आफन्त र सुरक्षाको दबाबपछि भागेका कैदीबन्दी फर्किन थाले
तुलसीपुर कारागारका २५३ कैदीमध्ये ६० जना कारागार फर्किए, बाँकीकाे खोजी र नियन्त्रण प्रक्रिया जारी
प्रकाशित मिति : 12 September, 2025 4:03 pm
दाङ । जेन–जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदीबन्दी आफन्तको दबाब र प्रशासनको सूचनापछि पुनः कारागार फर्किन थालेका छन् ।
तुलसीपुर कारागारका जेलर गिरबहादुर सिजवालका अनुसार २५३ मध्ये हालसम्म ६० जना कैदी फर्किएका छन् । उनीहरूले सुरक्षाकर्मीमार्फत वा आफैँ सम्पर्क गरेर कारागारमा पुनः प्रवेश गरेको जानकारी दिइएको छ ।
भदौ २४ गतेदेखि तीन चरणमा २५३ जना कैदी फरार भएका थिए । पहिलो दिन १२४ जना, दोस्रो दिन ९७ जना र तेस्रो चरणमा ३२ जना मिलेर भागेका थिए । तर भागेर आफन्तकोमा पुगेका धेरैजसो कैदी आफन्तकै पहलमा फर्किन थालेको कारागार प्रशासनले जनाएको छ ।
जेलर सिजवालले बाँकी कैदीबन्दी पनि बेलुकासम्म फर्किने विश्वास व्यक्त गर्दै भने, “यदि स्वेच्छाले फर्किएनन् भने प्रहरी प्रशासनले खोजी गरेर ल्याउनेछ ।”








