दहमा डुबेर दाङमा आमा–छोरीको मृत्यु
प्रकाशित मिति : 13 September, 2025 2:18 pm
दाङ । दाङको लमही नगरपालिका–१ बसन्तपुरमा आमा–छोरीको दहमा डुबेर मृत्यु भएको छ । ३९ वर्षिया किमा सार्की र उनकी १७ वर्षिया छोरी होलिका सार्की घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।
श्रीमान भरत सार्की, श्रीमती र छोरी सँगै माछा मार्न दहमा गएका थिए । घटनाको क्रममा सुरुमा श्रीमती किमा पानीमा परेकी थिइन्। उनलाई निकाल्न खोज्दा छोरी होलिकासमेत खोलामा पसेकी थिइन्। श्रीमानले दुबैलाई उद्दार गर्ने प्रयास गरे पनि सफल हुन नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए।
घटनापछि प्रहरी निरीक्षक पाण्डेयको कमाण्डमा ८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । मृतकहरूको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।








