२० मंसिर २०८२, शनिबार

अराजकताकाे पराकाष्टा : आफ्नै कार्यालय जलाउने कर्मचारी पक्राउ

प्रकाशित मिति :  14 September, 2025 6:56 am


दाङ । प्युठानको झिमरुक गाउँपालिकामा कार्यालयकै कर्मचारीले अध्यक्षको कार्यकक्षमा आगजनी र तोडफोड गरेका छन् । गाउँपालिका–७ का ३२ वर्षीय सुदर्शक जिसीले शुक्रवार राति गाउँपालिका अध्यक्ष पितबहादुर महतराको कार्यकक्षमा आगो लगाउनुका साथै उपाध्यक्ष प्रमोद पोखरेल र लेखा शाखामा समेत तोडफोड गरेका हुन् ।

जिसी अध्यक्ष महतराको जेठानका छोरा समेत हुन् । ०७५ सालदेखि रोजगार संयोजकका रूपमा कार्यरत जिसीलाई कार्यालय नजिकै बस्दै आएका बेला आगजनी र तोडफोडपछि सुरक्षा गार्डले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार जिसीलाई नियन्त्रणमा लिइएको छ र पालिकाले दिएको किटानी जाहेरीका आधारमा कानुनअनुसार कारबाही अघि बढाइनेछ ।

उपाध्यक्ष पोखरेलले आफू जिल्ला बाहिर रहँदा कर्मचारीकै संलग्नतामा भएको घटनाबारे सूचना पाएको बताए । “आफ्नै पालिकाका कर्मचारीले यस्तो काम गर्दा अत्यन्तै दुखद भएको छ,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालका अनुसार आफ्नै कर्मचारीको संलग्नतामा भएको आगजनीका कारण अन्य कर्मचारीहरूमा समेत त्रास बढेको छ ।

गाउँपालिका अध्यक्ष महतराले जिसी मानसिक स्वास्थ्य समस्या भएका कारण पछिल्लो समय नियमित औषधि सेवन नगरेको र मादक पदार्थ सेवनपछि यस्तो घटना भएको प्रारम्भिक बुझाइ रहेको बताए ।

“शुक्रवार राति नै उनलाई प्रहरीलाई बुझाइसकिएको छ। घटनाको क्षतिको विवरण संकलन भइरहेको छ,” महतराले भने।गाउँ कार्यपालिकाले आइतबार बिहान बैठक बोलाएर आगो लगाउने कर्मचारीमाथि थप कारबाहीका विषयमा निर्णय गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !