१९ मंसिर २०८२, शुक्रबार

बाल दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना : बालमैत्री समाज निर्माणमा जोड

प्रकाशित मिति :  14 September, 2025 8:13 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाइने यस दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उनले भने, “बालबालिका भविष्यका आधार हुन् । उचित वातावरण, स्याहार, सम्मान र सहभागिताले उनीहरू सक्षम र जिम्मेवार नागरिक बन्नेछन् ।”

मुख्यमन्त्री आचार्यले बालअधिकारका चार आधारभूत सिद्धान्त–भेदभाव रहित, सर्वोत्तम हित, दीर्घजीवन र विकास, तथा विचार र भावनाको कदर–लाई स्मरण गर्दै नेपालले यसलाई कानुनीरूपमा आत्मसात गरी ऐन, नियमहरू कार्यान्वयनमा ल्याएको उल्लेख गरे । उनले बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गरिएको पनि बताए ।

प्रदेश सरकार संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्न प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री आचार्यले बालबालिकालाई सुरक्षित, स्वस्थ र समान अवसरयुक्त वातावरण उपलब्ध गराउन अभिभावक, समाज र राज्य सबै एकसाथ लाग्नुपर्नेमा जोड दिए ।

यस अवसरमा उनले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, दुर्व्यवहार र विभेद अन्त्य गर्दै बालमैत्री समाज निर्माणमा जुट्न आह्वानसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !