२० मंसिर २०८२, शनिबार

जेन-जी आन्दोलन : लुम्बिनीमा १७ प्रहरी घाइते, १२०८ कैदी अझै फरार

प्रकाशित मिति :  14 September, 2025 11:55 am


दाङ । जेन-जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश पनि अछुतो रहन सकेन । आन्दोलनकै प्रभावमा प्रदेशका विभिन्न स्थानका सुरक्षा संयन्त्रका संरचनामा क्षति पुगेको छ ।

बाँकेको ट्राफिक कार्यालय, बाँके भन्सार कार्यालय र सीमा प्रहरी बल जैसपुरमा आक्रमण हुँदा भौतिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आन्दोलन नियन्त्रणका क्रममा १७ जना प्रहरी घाइते भएका थिए । अधिकांश घाइते प्रहरी उपचारपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।

यस्तै आन्दोलनकै बेला कारागार तोडफोडपछि ठूलो संख्यामा कैदी भागेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म १,२०८ जना कैदी अझै फरार छन् । कुल १,५६६ जना कैदी भाग्दा ३५८ जना नियन्त्रणमा आइसकेका छन् भने अन्यको खोजी कार्य तीव्र पारिएको छ ।

भदौ २३ र २४ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशका ३ जनाको ज्यान गएको समेत प्रहरीले पुष्टि गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले सुरक्षामा पुनः कडाइ अपनाइएको र फरार कैदीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !