समर्थनकर्ताबाट घेरिइन् प्रधानमन्त्री कार्की : बालुवाटारमा नाराबाजी
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री छनोटमा गरेको निर्णयले उनलाई सत्तामा पुर्याउने समूहमै असन्तुष्टि निम्त्याएको छ । प्रधानमन्त्री नियुक्त भएको एक सातामै हामी नेपाल समूहका युवाहरुले बालुवाटारमै पुगेर नाराबाजी गर्दै उनको राजीनामासम्म माग गरेका छन् ।
आइतबार राति भएको विरोध कार्यक्रममा प्रदर्शनकारीहरुले “प्रधानमन्त्री राजीनामा दे”, “मुर्दामाथि राजनीति नगर” जस्ता नारा लगाए । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारजन पनि सुदन गुरुङको उपस्थितिमा सडकमा उत्रिएका थिए ।
सुदन गुरुङको आक्रोश
बालुवाटारको तीन नम्बर गेटमा उभिएर सुदन गुरुङले प्रधानमन्त्री कार्कीप्रति कठोर टिप्पणी गरे । उनले जनतालाई ‘सबैभन्दा शक्तिशाली’ भन्दै, “हामीलाई कसैले रोक्न सक्दैन, जसलाई राखेका छौं, निकाल्न पनि सक्छौं” भन्ने चेतावनी दिए । विशेषतः गृहमन्त्रीमा नियुक्त भएका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालको नामै लिएर उनले असन्तोष पोखेका थिए ।
गत शुक्रबार हामी नेपाल समूहकै प्रस्तावमा सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् तर उनले आइतबार कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र पूर्वप्राधिकरण प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेपछि विवाद चुलिएको हो । समूहका युवाहरुले आफूहरुसँग कुनै सल्लाह विना मन्त्री तोकिएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।
आन्दोलन हाइज्याकको आरोप
सुदन समर्थक युवाहरुले जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरिएको आरोप पनि लगाएका छन् । उनीहरुले आन्दोलनका एजेन्डा बेवास्ता भएको र प्रधानमन्त्रीको कार्यालयले आफ्नै स्वार्थका अनुसार मन्त्री नियुक्त गरेको दाबी गरेका छन् ।
राजनीतिक विश्लेषकहरुका अनुसार सुरुवातमै देखिएको यस्तो असन्तुष्टि प्रधानमन्त्री कार्कीको नेतृत्व क्षमतामाथि प्रश्न बनेको छ । समर्थनकर्तामै असन्तोष चुलिनु सरकार स्थिरताका लागि गम्भीर चुनौतीको संकेत भएको उनीहरुको भनाइ छ ।








