क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कुलमान घिसिङद्वारा विशेष कोष खडा गर्ने घोषणा
काठमाडौँ । भौतिक योजना मन्त्री कुलमान घिसिङले हालैका घटनाका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।
सोमबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले सो कोषको स्थापना प्रक्रियाबारे मन्त्रिपरिषद्ले छिट्टै औपचारिक निर्णय लिने जानकारी दिए ।
मन्त्री घिसिङले संरचनाको पुनर्निर्माणमा सरकार मात्र होइन, नेपाल बाहिर रहेका नेपालीहरूले पनि योगदान गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, “हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ । आक्रोशका कारण क्षति भयो, तर अब हामीले नै बनाउने हो ।”
उनका अनुसार पुनर्निर्माण कोषमा देशभित्रका नागरिकसँगै विदेशमा रहेका नेपालीहरूले पनि सहयोग गर्न सक्ने वातावरण बनाइनेछ । यसरी संकलित रकम पारदर्शी ढंगले प्रयोग गरी नष्ट भएका संरचनाको छिटो पुनर्निर्माणमा लगाइने मन्त्रालयले जनाएको छ ।








