१९ मंसिर २०८२, शुक्रबार

भारतकाे शिमलामा दुर्घटना : सल्यानका एकै परिवारका तीनसहित चार जनाको मृत्यु

प्रकाशित मिति :  16 September, 2025 11:10 am


दाङ । भारतको हिमाचल प्रदेशको शिमलास्थित कोटखाईमा सोमबार भएको जिप दुर्घटनामा सल्यानका एकै परिवारका तीनसहित चारजनाको ज्यान गएको छ ।

दुर्घटनामा सल्यानको कुमाख गाउँपालिका–४ बस्नेतज्युलाका ३७ वर्षिय राजेश विष्ट, ४७ वर्षिय डिल्लीबहादुर शाही, ३७ वर्षिय एकेन्द्र शाही र २४ वर्षिया लक्ष्मी शाहीको मृत्यु भएको हो ।

कुमाख गाउँपालिका–४ का वडाध्यक्ष शोभीलाल बस्नेतका अनुसार मजदुरीका लागि शिमला गएका उनीहरू काममा जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेका थिए । दुर्घटनास्थलमै चारैजनाको मृत्यु भएको हो ।

वडाध्यक्ष बस्नेतले भने, “दसैँमा घर फर्किने तयारी गर्दै गरेका उनीहरू गाउँमै धान रोपाइँ सकेर काम गर्न शिमला पुगेका थिए । लक्ष्मी शाही एक वर्षअघि गएकी थिइन् भने अन्य तीन जना यसै वर्ष असारमा गएका थिए ।”

दुर्घटनामा ज्यान गुमाएका सबैको अहिले पोस्टमार्टम भइरहेको र शिमलामा रहेका कुमाख गाउँपालिकाका स्थानीय तथा आफन्तहरूको सहयोगमा मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।

दसैंमा घर फर्किने बेला एकै परिवारका तीनजनासहित चार जनाको मृत्यु भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको गाउँपालिका स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !