जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार घटनामा प्रहरीसहित ७३ जनाको मृत्यु भएको हो ।
उनका अनुसार प्रहरीतर्फ तीन जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन् ।
नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र अस्पतालमा उपचारको क्रममा २१ प्रदर्शनकारीको मृत्यु भएको छ ।
मृतकमध्ये बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ रहेका छन् ।
त्यसैगरी, भदौ २४ मा प्रदर्शनका क्रममा भएको लुटपाट र आगजनीमा ३८ जनाको ज्यान गएको छ । भाटभटेनी सुपरमार्केट र विभिन्न घरमा जलेको अवस्थामा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
यसबाहेक कैदीबन्दी तथा बाल बन्दीतर्फ १० जनाको मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिए । यसरी, भदौ २३ र २४ मा भएको प्रदर्शन, गोलीकाण्ड, आगजनी तथा नियन्त्रण प्रक्रियामा जम्मा ७३ जनाले ज्यान गुमाएका छन् ।








