लुम्बिनीमा असाेज ३ गते संविधान दिवस मनाइने
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी असोज ३ गते संविधान दिवस औपचारिक कार्यक्रमका साथ मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले बिहान ८ बजे विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश मातहतका विभिन्न कार्यालयमा आगजनी भई भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए । सामान्य मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सेवा तुरुन्तै सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ ।
मुख्यमन्त्री आचार्यले कर्मचारीहरूलाई मनोबल उच्च बनाएर सेवा प्रवाहमा जुट्न आग्रह गरे । उनले भने, “सेवा प्रवाहलाई चुस्त ढंगले सञ्चालन गर्न जरुरी छ । पाल टाँगेर भए पनि सेवा अगाडि बढाउन सकिन्छ, कर्मचारीले मनोबल उच्च बनाएर काममा जुट्न आवश्यक छ ।”
प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदाय स्तरबाट गरिएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति मुख्यमन्त्रीले आभार व्यक्त गरे ।
प्रदेश सरकार मातहतका जिल्ला तहका कार्यालयहरू, चार पांग्रे तथा दुई पांग्रे सवारीसाधनमा समेत आगजनी भएको थियो । यी कार्यालयहरूको सेवा पुनः सञ्चालन गर्ने विषयमा सचिवस्तरीय टोलीले अनुगमन गरेको प्रदेश सरकारको भनाइ छ ।








