जेन-जी आन्दोलनका शहीदप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली
दाङ । लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । प्रदेश सरकारले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।
मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश सरकारको बैठकले शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले जानकारी दिइन् ।
बैठकले आन्दोलनका क्रममा प्रदेशभित्र शान्ति सुरक्षा कायम राख्न योगदान दिने राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नागरिक समाजप्रति धन्यवाद ज्ञापन गरेको छ । साथै, आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
यस्तै बैठकले आगामी असोज ३ गते संविधान दिवस प्रदेशभर औपचारिक कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ । सो समारोहको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिइएको छ ।








