१९ मंसिर २०८२, शुक्रबार

गुल्मीका तीन मुख्य सडक ठप्प, यात्रु बाटैमा अलपत्र

प्रकाशित मिति :  17 September, 2025 8:17 am


रुपन्देही । गुल्मीका प्रमुख तीन सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र परेका छन् । लगातारको वर्षाले कालीगण्डकी करिडोर, मदनभण्डारी राजमार्ग र रिडी–वामीटक्सार सडकखण्ड ठप्प हुँदा जिल्लाभर आवागमन प्रभावित भएको हो ।

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खस्दा कालीगण्डकी करिडोर रातिदेखि नै अवरुद्ध छ । त्यस्तै, रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा पहिरो खसेर मदनभण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास खण्ड रोकिएको छ ।

पानीको उच्च बहावका कारण सत्यवती गाउँपालिका–६ डहरेखोलामा रिडी–वामीटक्सार सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि यात्रु र सवारीसाधन सडकमै थुनिएका छन् । स्थानीय पालिका र निर्माण कम्पनीले जेसीबीसहितका उपकरण तयारी अवस्थामा राखे पनि लगातारको वर्षाले काम अघि बढाउन कठिन भएको प्रहरीले जनाएको छ ।

सडक अवरोधका कारण आपतकालीन सेवा, बिरामी बोक्ने एम्बुलेन्सदेखि खाद्यान्न ढुवानीसम्म रोकिएको छ । यात्रुहरू घण्टौँ बाटोमा पर्खन बाध्य बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी, खोलामा पानीको सतह बढिरहेको भन्दै तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । साथै, जोखिम क्षेत्रका घरपरिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सर्न समेत सुझाव दिइएको छ ।

यो अवरोध लामो समय जारी रह्यो भने गुल्मी मात्र नभई आसपासका जिल्लामा समेत यातायात र आपूर्ति संकट गहिरिने चिन्ता स्थानीयहरूले व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !