१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेशमा जेन्जी आन्दोलनबाट ठूलो भौतिक क्षति

प्रकाशित मिति :  17 September, 2025 11:52 am


दाङ । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्दै आएका निकायमा ठूलो भौतिक क्षति पुगेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मुख्यमन्त्री निवासमा रहेका ३ वटा सरकारी गाडीसमेत पूर्ण रूपमा नष्ट भएका छन् ।

प्रदेशका निमित्त प्रमुख सचिव लिलाधर सुवेदीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा ७ मोटरसाइकल र १ गाडी जलाइएका छन् भने आर्घाखाँचीमा सामान्य तोडफोड भएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत रुपन्देहीमा १ मोटरसाइकल जलेको र दाङ, लमहीस्थित मन्त्री क्वाटरका सामग्री जलाइएको उल्लेख गरिएको छ ।

यस्तै, बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब ९६ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत रुपन्देही, बाँके, दाङका यातायात कार्यालय, भैरहवाको उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा नष्ट भएका छन् ।

स्वास्थ्य मन्त्री निवासमा समेत क्षति पुगेको छ भने उर्जा मन्त्रालय अन्तर्गत दाङमा ८ मोटरसाइकल जलेका छन् । बन निर्देशनालय पनि पूर्ण रूपमा क्षति भएको जनाइएको छ ।

यता, आन्तरिक मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा भने कुनै क्षति नभएको बताइएको छ ।

प्रदेश लोक सेवा आयोगमा भवनमा आगजनी र तोडफोड हुनुका साथै स्टोर, कर्मचारी तथा जनप्रतिनिधिका सम्पत्ति विवरण नष्ट भएका छन् । आयोगका ६ वटा गाडी पनि पूर्ण रूपमा नष्ट भएको सूचनामा उल्लेख छ ।

प्रदेश प्रशासनिक परिसर राप्ती उपत्यका देउखुरीको संरचना भने सुरक्षित रहेको प्रदेश सरकारको प्रारम्भिक विवरणमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !