१९ मंसिर २०८२, शुक्रबार

जेनजी आन्दोलनपछि निजी क्षेत्रको भरोसा संकटमा : लगानी वातावरण असुरक्षित

प्रकाशित मिति :  17 September, 2025 12:11 pm


काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले सरकारी संरचना मात्र नभई निजी क्षेत्रको लगानी वातावरणमै ठूलो प्रश्न उठाएको छ ।

दर्जनौँ कम्पनीको क्रेडिट रेटिङ ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ मा पुगेसँगै निजी क्षेत्रले आफ्ना लगानी सुरक्षित राख्न सक्ने अवस्था नबन्ने चिन्ता व्याप्त भएको छ ।

रेटिङ एजेन्सी इक्राले ६ बीमा कम्पनी, ५ भौतिक क्षति भएका व्यवसाय र पर्यटन क्षेत्रमा संलग्न २ कम्पनीलाई निगरानीमा राख्दै आगामी दिनमा वित्तीय जोखिम अझै बढ्ने चेतावनी दिएको छ ।

इक्राका अनुसार बीमा कम्पनीहरूले बहुमत जोखिम उठाउनुपर्ने देखिएको छ भने ठूलो मात्रामा भएको भौतिक क्षतिले निजी लगानीकर्ताको मनोबलमा धक्का पुर्‍याएको छ ।

निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन्, लगानी वातावरणमा विश्वास कम हुँदा नयाँ पूँजी प्रवाह रोकिन सक्छ । विशेषगरी भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स, मौलाकाली केबलकारजस्ता ठूला उपभोक्ता–मुखी व्यवसायमा क्षति पुग्नु र पर्यटन पूर्वाधार नष्ट हुनु विदेशी लगानीकर्ताका लागि नकारात्मक सन्देश हो ।

आन्दोलनपछि सरकारी संरचनासँगै निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीले देशको ‘इज अफ डुइङ बिजनेस’ मा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । कर्जा लिएका व्यवसायहरूको भुक्तानी क्षमता घट्ने जोखिम बढेकाले बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व पनि प्रभावित हुनसक्ने इक्राको बुझाइ छ ।

व्यवसायीहरूका अनुसार राजनीतिक स्थायित्व नहुँदा र लगानीमैत्री वातावरण कमजोर हुँदा नेपालमा दीर्घकालीन योजना बनाउन कठिन भइरहेको छ ।

पर्यटन व्यवसायीहरू भन्छन्, “सिजनको बेलामा भएको यस्तो घटनाले मात्र होइन, भविष्यमा पनि नेपाल असुरक्षित गन्तव्य हो भन्ने सन्देश बाहिर जान्छ ।”

यसरी, जेनजी आन्दोलनको तात्कालिक क्षति भौतिक संरचनामा मात्र सीमित नभई समग्र लगानी वातावरण, निजी क्षेत्रको विश्वास र नेपालको वित्तीय बजारमा दीर्घकालीन असर गर्ने संकेत देखिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस !