संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउनेछ- मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन् ।
संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गरेको स्मरण गराउँदै यसले नागरिकका मौलिक हक–अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानूनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रलाई लक्ष्य बनाएको बताए।
उनले प्रदेश सरकारले संविधान, दीगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दोस्रो आवधिक योजनालाई आधार मानी नीतिगत, संरचनात्मक र कानूनी सुधारका कार्य अघि बढाइरहेको स्पष्ट पारे ।
सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेही कार्यशैली र नागरिकका गुनासाहरूको समयमै सम्बोधनलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।
भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइसकेको बताउँदै आचार्यले युवा पुस्ताको चाहना अनुरूप प्रदेश सरकार थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढ्ने प्रतिवद्धता जनाए ।
संविधान दिवसले आपसी एकता, सहकार्य र समन्वयमा जोड दिन प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले समृद्ध लुम्बिनी र खुसी नागरिकको यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिताको लागि अपील गरे ।








