२० मंसिर २०८२, शनिबार

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न संविधान संशोधन आवश्यक-प्रचण्ड

प्रकाशित मिति :  19 September, 2025 10:19 am


काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले २०७२ सालमा संविधान बनाउँदा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नु पर्ने बेला आएको जिकिर गरे ।

प्रचण्डले भने, “त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो फरक मत थियो । ठूला भनिएका दलले त्यतिबेला त्यसलाई अस्वीकार गरे तर अहिलेको जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको छ ।”

उनका अनुसार राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानको प्रश्न अपरिहार्य छन्, तर संविधानमा त्यस्तो प्रावधान नल्याउँदा अहिलेको संकट उत्पन्न भएको हो ।

प्रचण्डले थपे, “संविधान निर्माणमा हाम्रो फरक मतलाई त्यतिबेला समेटिएको भए अहिलेको परिस्थिति आउने थिएन । जेनजी आन्दोलन हुनुपर्दैनथ्यो । ठूलो क्षति हुने थिएन ।”

उनले जेनजी आन्दोलनले माओवादीको विगतको प्रस्ताव सही रहेको प्रमाणित गरिदिएको दाबी गर्दै भने, “हामीले संविधान बनाउँदा राखेका भिन्न मत सही भएको अहिले फेरि पुष्टि भएको छ । अब संविधान संशोधन गरेर त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।” कार्यक्रममा प्रचण्डले ठूला भनिएका दलहरुको अहंकारले देशलाई भयंकर अवस्थासम्म पुर्‍याएको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस !