संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ-मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार संविधान दिवस विशेष समारोहका साथ मनाएको छ । राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेशको प्रशासनिक केन्द्रमा आयोजित मूल समारोहमा ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मुख्य संकल्पसहित संविधान दिवस मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताए ।
“युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ,” मुख्यमन्त्री आचार्यले भने, “लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो, यही लक्ष्यले मुलुकलाई निकास दिनेछ भन्नेमा म विश्वस्त छु ।”
उहाँले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै नागरिकमैत्री र प्रभावकारी कार्यशैलीलाई सरकारको प्राथमिकतामा राखिने जानकारी दिए ।
संविधानले बोकेको सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई आधार मानेर प्रदेश सरकारले नीति, संरचना र कानूनी सुधारलाई अघि बढाइरहेको पनि उहाँले स्पष्ट पारे ।
मुख्यमन्त्री आचार्यका अनुसार सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन, नागरिकका गुनासाहरूको समयमै सम्बोधन, मितव्ययिता र सदाचारपूर्ण आचरणलाई प्रवर्द्धन गर्दै सरकार नागरिकलाई सेवा पुर्याउनेतर्फ केन्द्रित रहेको छ ।
समारोहमा प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले संविधानभित्रैबाट निकास खोजिनुपर्नेमा जोड दिए । “हाम्रो संविधान अब्बल संविधान हो । यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ,” उनले भने, “जनता असन्तुष्ट हुनेगरी काम गर्नु हुँदैन, सबैले आत्मसमिक्षा गरेर कार्यशैली बदल्नुपर्छ ।”
पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले घुसपैठ र आगजनीजस्ता घटनाको छानबिनसहित सुशासन र विकासलाई सुनिश्चित गर्न सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व संविधानले गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, संविधानले अब राजनीतिक अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार ल्याउने दिशामा अग्रसर हुनुपर्छ ।
कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण मुख्यमन्त्री कार्यालयका कानून सचिव लिलाधर सुवेदीले गर्नुभएको थियो । प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा प्रदेशसभाका विषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरू, प्रदेश सरकारका सचिव तथा कर्मचारी, विद्यार्थी स्काउट र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।








