२० मंसिर २०८२, शनिबार

पार्टीभित्र कुनै पनि किसिमको विग्रह हुँदैन-वरिष्ठ उपाध्यक्ष पोखरेल

प्रकाशित मिति :  19 September, 2025 1:12 pm


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनै पनि किसिमको विग्रह हुन नदिने दाबी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र विभाजनबारे उठेका शंकालाई खण्डन गरेका हुन् ।

“एमालेले अहिले केही नोक्सानी बेहोर्नु परेको छ । तर हामी धुलो टक्टक्याउँदै उठ्छौँ, फेरि नयाँ ढंगले पार्टीलाई निर्माण गर्छौँ,” उनले भने, “देशव्यापी रूपमा संविधान दिवस मनाइरहँदा एमालेभित्र कतै केही हुने हो कि भन्ने शंका होला, तर कुनै पनि किसिमको विग्रह हुनेवाला छैन । हामी विग्रह हुन दिने छैनौँ ।”

पोखरेलले कमजोरीहरू सच्याउँदै अघि बढ्ने पार्टीको अठोट रहेको बताए । उनका अनुसार विगतको यात्रालाई समीक्षा गर्दै आवश्यक सुधार गरेर एमालेलाई अझ सबल बनाउन सकिनेछ । “कमजोरीहरू सच्चिन्छन्, हामी सच्याउँछौँ, तर विग्रह हुन दिँदैनौँ,” उनले स्पष्ट पारे ।

उनले एमाले कुनै सहज अवस्थामा बनेको पार्टी नभएको उल्लेख गर्दै यसलाई नयाँ ढंगले अगाडि बढाइने बताए । “एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो कसैले किस्तिमा हालेर दिएको उपहार पनि होइन । यो असंख्य अग्रज र शहीदहरूले संघर्ष गरेर ल्याएको ऐतिहासिक उपलब्धि हो,” उनले भने, “यस पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौँ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक एकता खल्बलिएको खण्डमा राष्ट्रिय एकता कमजोर हुने चेतावनी पनि दिए । नेपाल बहुजाति, बहुभाषा, बहुधर्म र बहुसांस्कृतिक देश भएकाले सामाजिक सद्भाव कायम राख्नुपर्ने उनले औंल्याए ।

“सामाजिक सद्भाव खल्बल्याउन चाहने तत्वहरू बेला–बेला देखिन्छन्, तर एमालेले त्यस्ता शक्तिलाई पराजित गर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !