दाउन्नेमा पहिरो : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा हरेक वर्ष दोहोरिने समस्या फेरि उस्तै दोहोरिएको छ । लगातारको वर्षासँगै शुक्रबार बिहान विनयी त्रिवेणी गाउँपालिका–२, पैँसठ्ठी मोड नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
तीन दिनदेखिको अविरल वर्षाले दुई दिनयता एकतर्फी मात्र सञ्चालन भएको सडक पूर्णरूपमा अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार पहिरो हटाउने प्रयास भइरहेको छ तर लगातारको पानीले काम गर्न कठिनाइ भएको छ । यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यात्रुहरूको पीडा भने यहीँ अड्किएको छ–हरेक वर्ष दाउन्नेमा पानीको निकास नहुँदा सडक बग्छ, पहिरो खस्छ, अनि राजमार्ग बन्द हुन्छ ।
समस्या समाधानका जिम्मेवार सडक विभाग र ठेक्का पाएको चाइना स्टेट कर्पोरेसनले बारम्बार चेतावनी पाउँदा पनि स्थायी समाधानमा चासो नदिँदा लाखौँ यात्रुले हरेक वर्ष यस्तो पीडा सहन बाध्य भएका छन्।
स्थानीयवासीको भनाइमा, असार–साउनमा सडक अवरुद्ध हुनु दैनिकीझैँ भएको छ। “दाउन्ने पार गर्नुपर्ने भयो भने सवारीसाधन मात्र होइन, हाम्रो धैर्य पनि रोकिन्छ,” एक स्थानीयले बताए ।
नेपालकै प्रमुख राजमार्गमा बारम्बार यस्तो समस्या दोहोरिँदा यात्रु मात्रै होइन, राष्ट्रिय अर्थतन्त्र र आपूर्ति व्यवस्थामासमेत असर पर्ने देखिन्छ। तर स्थायी समाधानको पहल भने अझै देखिएको छैन।








