१९ मंसिर २०८२, शुक्रबार

रूपन्देहीमा पौडी खेल्ने क्रममा किशोरको मृत्यु

प्रकाशित मिति :  19 September, 2025 7:45 pm


रुपन्देही । रूपन्देहीमा खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्दा उनी बेपत्ता भएका थिए । खबर ढिलो पुगेका कारण तत्काल उद्धार सम्भव नभएकाले शुक्रबार बिहानदेखि मात्र खोजी कार्य सुरु गरिएको थियो ।

सुरुमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी गरे पनि सफलता नपाएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय २७ नम्बर गणको टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक खड्क केसीको नेतृत्वमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले ड्यामभित्रै श्यामुलाई मृत अवस्थामा फेला पारेको हो ।

मृतकको शवलाई पोस्टमार्टमका लागि भीम अस्पताल, भैरहवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !