अर्घाखाँचीका आगजनी प्रभावित क्षेत्रको मुख्यमन्त्री आचार्यद्वारा अनुगमन
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा हालै भएका आगजनी घटनाबाट प्रभावित सरकारी तथा राजनीतिक दलका कार्यालयहरूको स्थलगत अनुगमन गरेका छन् ।
शनिबार गृहजिल्ला अर्घाखाँची आई पुगेका मुख्यमन्त्री आचार्यले जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टी कार्यालय तथा अन्य संरचनामा पुगेका थिए । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ती कार्यालयमा आगजनी गरी ठूलो क्षति पुर्याइएको थियो ।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले तत्काल जनतामुखी सेवा प्रवाह सुरु गर्नुपर्नेमा जोड दिए । उनले भने, “अब सेवा प्रवाह कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । अस्थायी संरचना निर्माण गरेर वा त्रिपाल टाँगेर भए पनि जनताको काम रोक्नु हुँदैन । सबैसँग समन्वय र सहकार्य गरेर सेवा निरन्तरता दिनै पर्छ ।”
जेन-जी आन्दोलनका नाममा सरकारी, सामाजिक तथा राजनीतिक संघ–संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको छानबिन भइरहेको बताउँदै मुख्यमन्त्री आचार्यले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइने स्पष्ट पारे । स्थानीय सरोकारवाला पक्षहरूले पनि घटनाको निष्पक्ष अनुसन्धान र क्षतिको भरपाई गर्न माग गरेका छन् ।
आन्दोलनका क्रममा मुख्यमन्त्री आचार्यकै सन्धिखर्कस्थित निजी घरमा समेत आगजनी गरिएको थियो । उक्त घटनामा उनको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
सुरक्षा निकायले हाल घटनाको सम्पूर्ण पाटोको अनुसन्धान गरिरहेको र दोषी पहिचान गर्ने कार्य तीव्र पारिएको जनाएको छ । मुख्यमन्त्री आचार्यले यस प्रकारका हिंसात्मक गतिविधिले जनतामुखी सेवा र विकास प्रक्रियामा अवरोध मात्र ल्याउने भन्दै शान्तिपूर्ण राजनीतिक मार्गअन्तर्गत समस्याको समाधान खोज्न सबैलाई आग्रह गरेका छन् ।








