१९ मंसिर २०८२, शुक्रबार

तरलता चाप बढ्दा फेरि ७० अर्ब तान्दै राष्ट्र बैंक

प्रकाशित मिति :  21 September, 2025 11:49 am


काठमाडौँ । वित्तीय प्रणालीमा थपिँदो तरलता चाप नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज आइतबार पनि ७० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमार्फत ७ दिनका लागि उक्त रकम तानिने छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन आह्वान गरिएको छ ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्ला दिनहरूमा लगातार बजारबाट पैसा निकाल्दै आएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन सकिने रकम (तरलता) लगातार बढिरहेका कारण ऋण प्रवाहमा असन्तुलन नआओस् भन्ने उद्देश्यले यस्तो कदम चालिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

सूचनाअनुसार बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। बोलकबोल न्यूनतम १० करोडदेखि हुने र बढीमा पाँच करोडले भाग गर्दा बाँकी नपर्ने गरी गर्नुपर्ने व्यवस्था छ।

खरिद गरिएका निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनमा ब्याजदर आधारमा प्रतिस्पर्धात्मक बोलकबोल हुने छ भने बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था पनि गरिएको छ।

हाल अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल झरेको अवस्थामा राष्ट्र बैंक लगातार पैसा तान्दै आएको छ । यसअघि ब्याजदर माथिल्लो सीमातिर नजिकिँदा राष्ट्र बैंकले विपरीत कदम चालेको थियो-बजारमा पैसा प्रवाह गर्ने । यसरी आवश्यकता अनुसार तरलता घटबढ गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक औजार प्रयोग गर्ने परम्परा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !