राज्यलाई कमजोर पार्ने आगजनीले कसैलाई फाइदा हुँदैन- मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा भएको आगजनीबाट प्रभावित कार्यालयहरूको आइतबार अनुगमन गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीमा परेका कार्यालयहरू निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रभावित क्षेत्रमा तत्कालीन अवस्थामा टेन्ट टाँगेर भए पनि सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन अनुगमन सुरु गरिएको बताए ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले भने, “जेन्जीको नाममा घुसपैठ गरेर राज्यलाई कमजोर पार्नेगरी आगजनी गरियो। यसले ठूलो क्षति पुगेको छ । मालपोत, नापीलगायतका कार्यालय जलेका छन्। कागजात खरानी बनेका छन्, जसलाई पुनः तयार पार्न निकै कठिन हुनेछ ।”
उनले राज्यविरुद्धको यस्तो गतिविधिले कसैलाई पनि फाइदा नहुने स्पष्ट पार्दै भने, “टेन्ट टाँगेरै भए पनि सेवा अगाडि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो । कर्मचारीको मनोबल बढाउन र सेवाग्राहीलाई निरन्तर सेवा कसरी दिने भन्ने छलफलमा हामी केन्द्रित भएका छौं ।”
मुख्यमन्त्री आचार्यले जेन्जीको नाममा सरकारी सम्पत्ति र संस्थामाथि गरिएको आक्रमणलाई निन्दा गर्दै त्यसले शान्तिपूर्ण आन्दोलनको स्वरूपलाई नै कलंकित बनाएको टिप्पणी गरे ।
अनुगमनका क्रममा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारीलगायतको उपस्थिति थियो ।
मुख्यमन्त्री आचार्यले उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्ट, मालपोत कार्यालय, लोकसेवा आयोग, आन्तरिक राजस्व कार्यालय, भू–तथा जलाधार कार्यालयलगायतका संरचनाहरूको अनुगमन गरेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रदेशभर १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको छ ।
त्यस क्रममा ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी इकाइमा समेत क्षति पुगेको थियो । सबैभन्दा बढी क्षति दाङमा भएको छ, जहाँ मात्र ७० संरचनामा तोडफोड र आगजनी भएको विवरण प्रहरीले सार्वजनिक गरिसकेको छ।








