मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा
चितवन । केही दिनयता अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ। लगातारको वर्षासँगै आएको बाढी–पहिरोका कारण बन्द भएको यो सडकलाई आंशिक रूपमा सुचारु गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहानसम्म देशभरका चार वटा प्रमुख राजमार्ग अझै पूर्णरूपमा अवरुद्ध छन्। तीमध्ये कोशी राजमार्ग, नेपाल–चीन नाका जोड्ने गोसाइकुण्डको पुल, पासाङ ल्हामु राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानमा यातायात ठप्प रहेको छ।
यस्तै, गल्छी–त्रिशूली हुँदै मैलुङ–स्याफ्रु सडक, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग तथा मध्यपहाडी लोकमार्ग भने हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रभावित क्षेत्रका यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ भने सम्बन्धित निकायले अवरुद्ध सडक खण्ड खुलाउने कार्य तीव्र रूपमा भइरहेको जनाएको छ।








