बाँकेमा प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिएका छन् ।
मंगलबार उनले बाँके जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको प्रत्यक्ष अनुगमन गरेका छन् । यसअघि उनले अर्घाखाँची, प्यूठान र दाङका क्षतिग्रस्त कार्यालयहरूको पनि निरीक्षण गरेका छन् ।
अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा रोक्न नदिने प्रतिवद्धता जनाए । उनले भने– “कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगका कामहरू अघि बढाइरहेका छौं । जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँकेका सरकारी संरचना ध्वस्त पारेका छन् । नागरिकलाई दैनिक आवश्यक पर्ने कागजात र लगतहरू जलाइएका छन्, जुन अत्यन्त खेदजनक कुरा हो । यसले भोलि लाभग्राही जनतालाई नै समस्या सिर्जना गर्ने देखिन्छ ।”
प्रदेशभरै दुई सयभन्दा बढी कार्यालयमा क्षति पुगेको र करिब दुई खर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । धेरै स्थानमा कार्यालय भवन ध्वस्त भएकाले अस्थायी रूपमा टेन्ट टाँगेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
मुख्यमन्त्रीले प्रभावित क्षेत्रका नागरिकलाई निरन्तर सेवा पुर्याउन प्रदेश सरकार गम्भीर रूपमा लागिपरेको बताउँदै सार्वजनिक सम्पत्ति जोगाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे ।








