१९ मंसिर २०८२, शुक्रबार

नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

प्रकाशित मिति :  23 September, 2025 6:13 pm


काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार दिउँसो खसेको भयंकर सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

मंगलबार दिउँसो करिब ३ः२० बजे ठूलो मात्रामा खसेको पहिरोले सडकसहित भासिने खतरा बढेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार लगातार सुक्खा पहिरो खसिरहेका कारण तत्काल सडक खोल्ने कुनै सम्भावना छैन ।

‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । यसले सडक भासिने जोखिम बढाएको छ । सडक खुल्न कति दिन लाग्छ भन्ने अहिले नै निर्क्योल गर्न सकिन्न,’ उनले भने ।

सडक विभागको प्राविधिक टोलीसहित सुरक्षा समितिको बैठक बसिरहेको र अवस्थाको मूल्याङ्कन भइरहेको उनले बताए ।सडक भासिन सक्ने जोखिम भएकाले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। पहिरो अझै निरन्तर खसिरहेकोले तत्काल पन्छाउने सम्भावना नरहेको एसपी पुरीले जनाए।



प्रतिक्रिया दिनुहोस !