१९ मंसिर २०८२, शुक्रबार

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना

प्रकाशित मिति :  24 September, 2025 6:59 am


काठमाडौँ । बडा दसैँ एवम् नवरात्रको तेस्रो दिन आज घरघरका दसैँ घर तथा शक्तिपीठमा नवदुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

हातमा चन्द्रमा आधार भएको घण्ट धारण गर्ने भएकाले यिनको नाम ‘चन्द्रघण्टा’ रहन गएको धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख छ । नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार, चन्द्रघण्टा देवीको आराधनाले विशेष शक्ति प्राप्त हुने विश्वास छ ।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा हुन्छ, उहाँलाई चन्द्रघण्टा भनिन्छ भन्ने व्याख्या पाइन्छ । शिरमा अर्धचन्द्र र घण्ट धारण गर्ने यिनीको स्वरुप पहेँलो वर्णको हुने जनाइएको छ । देवी चन्द्रघण्टाले अत्याचारी दानवी शक्तिको नाश गर्ने बताइन्छ ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार, चन्द्रघण्टा देवी करुणामयी, शान्त र दयामयी स्वरुपकी हुन् । गीत–सङ्गीत क्षेत्रमा संलग्न व्यक्तिहरूले विशेषत: यिनको पूजा आराधना गर्ने चलन रहेको छ । आज चन्द्रघण्टा देवीको आराधना र ध्यान गर्नाले ललाटमा तेज प्राप्त हुने विश्वास पनि रहिआएको छ ।

नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री देवी, दोस्रो दिन ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा गरिएको थियो । तेस्रो दिन आज भक्तजनहरूले चन्द्रघण्टा देवीलाई निष्ठापूर्वक आह्वान गरेका छन् ।

नवरात्रका नौ दिनभर पूजा स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्रको पाठ गरिन्छ । धार्मिक विश्वासअनुसार यसरी देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ ।

दसैँलाई दुर्गा पक्ष पनि भनिन्छ । यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ । यी सबैलाई नवदुर्गा भनिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनहरूको विशेष भीड लाग्ने गरेको छ । बडा दसैँका अतिरिक्त बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष आराधना गर्न पनि मन्दिरहरूमा दर्शनार्थीहरूको भीड लाग्ने परम्परा छ ।



प्रतिक्रिया दिनुहोस !