पुँजी बजार सुधार कार्यदलको प्रतिवेदन बुझाइयो
काठमाडौँ । पुँजी बजारमा देखिएका समस्या समाधानका लागि बनेको प्रणालीगत तथा प्रक्रियागत सुधारसम्बन्धी कार्यदलले अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाएको छ ।
गत शुक्रबार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदललाई पाँच दिनभित्र सुझावसहित कार्यान्वयन कार्ययोजना पेश गर्ने कार्यादेश दिइएको थियो ।
जेनजी आन्दोलनपछि एक हप्ताभन्दा बढी समय बन्द रहेको सेयर बजार गत बिहीबार खुलेको दिन १६० अङ्कले घटेपछि बजारमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदनमा तत्काल, मध्यम र दीर्घकालीन गरी तीन चरणमा सुधारका एजेन्डा प्रस्तुत गरिएको छ । प्रतिवेदनअनुसार तीन महिनाभित्र गर्नुपर्ने १५ वटा, एक वर्षभित्र पूरा गर्नुपर्ने १५ वटा र एक वर्षभन्दा बढी अवधिमा कार्यान्वयन गर्नुपर्ने ७ वटा कामको सुझाव दिइएको छ ।
प्रतिवेदन बुझाउँदै संयोजक रुपेश केसीले पुँजी बजारमा देखिएका प्रणालीगत कमजोरी, प्रक्रियागत ढिलासुस्ती, नियामकीय समन्वय अभाव र लगानीकर्ताको मनोबल कमजोर हुनु जस्ता समस्या समाधानका लागि कार्यदलले व्यावहारिक खाका तयार पारेको जानकारी दिए ।
अर्थमन्त्री खनालले प्रतिवेदनलाई छिट्टै अध्ययन गरी प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । पुँजी बजार सुधारसम्बन्धी कार्यदलको विस्तृत प्रतिवेदन मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।








