१९ मंसिर २०८२, शुक्रबार

राष्ट्र बैंकको २ अर्ब ७१ करोड मुद्दति निक्षेप लगानी

प्रकाशित मिति :  25 September, 2025 9:21 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ मुद्दति निक्षेपमार्फत लगानी गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा तोकिएको रकम मुद्दति निक्षेपमा राखिनेछ ।

सो क्रममा ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४० करोड ७७ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ लगानी गरिनेछ ।

राष्ट्र बैंकले १४ अक्टोबर २०२५ देखि १४ अक्टोबर २०२६ सम्म ३६६ दिन अवधिको मुद्दति निक्षेप लगानी गर्ने तयारी गरेको छ । यसका लागि केही सर्तहरू तोकिएका छन् ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा हुनु पर्ने, न्यूनतम पुँजीकोष कायम गरेको हुनु पर्ने, निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम हुनु पर्ने, खुद तरल सम्पत्ति तोकिएको सीमा भित्र हुनु पर्ने, कर्जा–निक्षेप अनुपात तोकिएको सीमा अनुसार हुनु पर्ने र अघिल्लो आर्थिक वर्षमा मुनाफामा रहेको हुनुपर्नेछ ।

त्यस्तै, जरिवाना भुक्तान गरेका सञ्चालक वा सिइओ तत्काल कायम नरहेको, जरिवाना तिरेको भए कम्तीमा ६ महिना पूरा भएको, शीघ्र सुधारात्मक कारबाही फुकुवा भएको ६ महिना पुगेको र संस्थालाई समस्याग्रस्त घोषणा नगरिएको हुनुपर्ने शर्त पनि राष्ट्र बैंकले तोकेको छ ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने प्रावधान पनि राखिएको छ । राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई असोज १० भित्र ब्याजदर प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !