१९ मंसिर २०८२, शुक्रबार

शान्ति–सुरक्षा नै व्यवसाय पुनरोत्थानको पहिलो शर्त : अध्यक्ष ढकाल

प्रकाशित मिति :  25 September, 2025 9:22 pm


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायिक वातावरण पुनरोत्थानका लागि शान्ति–सुरक्षा पहिलो शर्त भएको बताएका छन् ।

बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मूल्याङ्कन प्रणाली (अनलाइन भ्यालुएसन सफ्टवेयर) उद्घाटन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका घटनाले उद्योग–व्यवसाय र व्यक्तिगत सम्पत्तिमा अकल्पनीय क्षति पुर्याएको स्मरण गराए ।

“त्यो घटनापछि उद्योगी–व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीका लागि उच्च मनोबल चाहिन्छ । मनोबल उकास्न शान्ति–सुरक्षा अपरिहार्य छ,” उनले भने ।

ढकालका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको अवसर सिर्जना, राजस्वको सदुपयोग र युवाले निर्वाध रूपमा पेशा–व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित भए मात्र लगानी प्रवर्द्धन र रोजगारी विस्तार सम्भव हुन्छ ।

उनले जेनजी आन्दोलनपछि क्षतिग्रस्त पूर्वाधार निर्माणका लागि सरकारले स्रोत संकलनलाई आव्हान गरिरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को रकम प्रयोग गर्न सकिने तर त्यसको लेखाजोखा गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि दिए ।

भन्सार प्रणालीको डिजिटलिकरणलाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै ढकालले अनलाइन मूल्याङ्कनले मिय र कागजी प्रक्रियाको झन्झट हटाइदिने बताए ।

उनका अनुसार सरकारले निजी क्षेत्रको सुझावलाई आत्मसात् गर्दै छोटो समयमै सकारात्मक काम थालेको र यसले विस्तारै अर्थतन्त्रलाई लयमा फर्काउन मद्दत गर्नेछ ।

विराटनगर भन्सार कार्यालयमा पाइलट प्रोजेक्टका रूपमा लागू गरिएको अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणालीको अर्थमन्त्री रामेश्वर खनालले बुधवार उद्घाटन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !