१९ मंसिर २०८२, शुक्रबार

सिरहामा नाबालकद्वारा अभिषेक सिंहको हत्या : योजनामा अन्य संलग्नता शंकामा अनुसन्धान

प्रकाशित मिति :  25 September, 2025 9:33 pm


सिरहा । पाँच असोजदेखि बेपत्ता भएका १५ वर्षीय अभिषेक सिंह सात असोज बिहान गोलबजार-१३ को आँपबगैँचामा मृत भेटिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतककै काका पर्ने १७ वर्षीय पंकज सिंहले योजनाबद्ध हत्या गरेको स्वीकारेका छन् । पंकजले अभिषेकलाई खेल्न लगेर गम्छाले घाँटी थिचेर हत्या गरी शव ड्रममा लुकाएको, पछि पानीका कारण ड्रम देखिएपछि शव बगैँचामा फ्याली ड्रम पोखरीमा डुबाएको बयान दिएका छन् ।

हत्या लुकाउन उनले आफन्तसँगै खोजतलासमा सक्रिय भएको नाटक गरे भने, पाँच करोड फिरौती माग्दै इमोमार्फत धम्कीपूर्ण सन्देश पठाएर घटनालाई सीमापार अपराधजस्तो देखाउन खोजेको खुलेको छ । घटनामा प्रयोग गरिएको ड्रम, गम्छा र मोबाइल प्रहरीले बरामद गरेको छ ।

पंकजले ‘ट्र्याक्टर चलाउन सिकाउन अस्वीकार गरेकाले’ हत्या गरेको स्वीकारे पनि, अभिषेक एकल छोरा भई चार बिघा पुर्ख्यौली सम्पत्ति रहेको कारण अन्य आफन्त संलग्न हुनसक्ने आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धान सुरु गरेको छ ।

मुख्य आरोपी नाबालक भएकाले योजनाबद्ध ढंगले दोष उसैलाई थोपरेर सजाय कम गराउने रणनीति पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानलाई थप विस्तारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !