नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
चितवन । इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि राजमार्ग दुईतर्फी नै सुचारु भएको हो । असोज ७ गते मंगलबार साँझ साढे ४ बजेदेखि सडक पूर्णरूपमा बन्द भएको थियो ।
बुधबार बिहानबाट सुरु गरिएको पहिरो पन्छाउने काम निरन्तर जारी रहेर बिहीबार राति अबेर मात्र सम्पन्न भएको हो । काम ढिला भएपछि फ्लडलाइटको सहायताले रातिसम्म निरन्तर पहिरो हटाउने कार्य गरिएको थियो ।
करिब १६० मिटर क्षेत्रमा फैलिएको पहिरो पन्छाउन पाँचभन्दा बढी डोजर प्रयोग गरिएको थियो । लामो समयको अवरोधले यात्रुहरू सास्तीमा परेका थिए । सडक खुलिसके पनि लामो जाम भएकाले केही समय यात्रा सहज हुन नसक्ने डिभिजन कार्यालयले जनाएको छ ।
काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध हुँदा विशेष गरी दशैंका लागि गन्तव्यतर्फ हिँडेका यात्रुहरू बीचमै अलपत्र परेका थिए ।
तुइन खोला आसपास यसअघि पनि पटक–पटक पहिरो खस्ने गरेको हुँदा सतर्क रहनु पर्ने सडक डिभिजनले जनाएको छ । अब पुनः ठूलो पहिरो नखसे आवागमन सहज हुने अपेक्षा गरिएको छ ।








