१९ मंसिर २०८२, शुक्रबार

आगजनी, तोडफोड र लुटपाट गर्ने ‘जेन-जी’ होइननः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  26 September, 2025 4:06 pm


नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनको नाममा भएका अराजक गतिविधि वास्तविक आन्दोलनकारीले नगरेको स्पष्ट पारेका छन् ।

शुक्रबार पश्चिम नवलपरासीका विभिन्न प्रभावित सरकारी कार्यालय, व्यवसायिक भवन र निजी घरहरूको निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले आन्दोलनमा जेनजी सहभागीहरूको उद्देश्य सुशासन र भ्रष्टाचारविरुद्धको आवाज भए पनि आपराधिक समूहहरूले त्यसको आडमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोप लगाए ।

“जेन-जीहरूले मुलुकमा सुशासन र भ्रष्टाचार अन्त्य चाहेका हुन् तर जुन प्रकारले अराजकता फैलाउने काम भयो, त्यो उनीहरूको भावना विपरीतको कार्य हो,” उनले भने, “यो ध्वंस पार्ने कामप्रति घोर आपत्ति छ ।”

मुख्यमन्त्री आचार्यले कर्मचारीहरूको मनोबल उच्च बनाउन पहल भइरहेको बताउँदै ‘टेन्टमुनि बसेर भए पनि जनताको काम गर्ने’ प्रतिबद्धता जनाए । उनका अनुसार पूर्ण रूपमा ध्वस्त भएका कार्यालयबाट समेत सेवा सुचारु गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरिसकेको छ ।

आन्दोलनका क्रममा पश्चिम नवलपरासीको सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, वडा कार्यालय, जनप्रतिनिधिहरूको निवास, होटल र रेस्टुरेन्टमा तोडफोड र आगजनी भएको थियो ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीका अनुसार अराजक गतिविधिले ठूलो मात्रामा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार जेन-जी आन्दोलनको नाममा लुम्बिनी प्रदेशभर १३२ सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । त्यस्तै ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ प्रहरी कार्यालयमा पनि क्षति पुगेको विवरण सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !