दीर्घकालीन समाधानका लागि सहकार्य अपरिहार्य- पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताएकी छन् ।
शुक्रबार राजधानीमा आयोजित जेन–जी आन्दोलनपछिको परिस्थितिबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चुनौती उत्पन्न गर्ने खतरा रहेको उल्लेख गरिन् ।
“सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन, यसको समाधान निकाल्नैपर्छ। हाम्रो शक्तिको स्रोत भनेका जनता हुन्,” भण्डारीले भनिन् ।
उनले दलहरूको नीति, दर्शन र कार्यक्रम जनताको सुझावसँग मेल खानुपर्नेमा जोड दिँदै पार्टीबीच समन्वय र सहकार्य बढाउन आग्रह गरिन् । “पार्टीहरू र विभिन्न आस्थाका समूहबीच छलफल र सहकार्य भए मात्र समस्या समाधान सम्भव छ,” उनको भनाइ थियो ।
देशको अस्थिरताले मित्रराष्ट्रलाई समेत चिन्तित तुल्याउन सक्ने चेतावनी दिँदै उनले शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई युगअनुकूल अघि बढाउन सबैलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न आह्वान गरिन् ।
दलका नेताहरूको कार्यशैलीप्रति कटाक्ष गर्दै उनले बाहिर धेरै बोल्ने तर पार्टीभित्र काम नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गरिन्। जनताको भावना बुझेर कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिइन् ।
भण्डारीले विशेषगरी नयाँ पुस्ताको आकांक्षा र मनोविज्ञान पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै भनिन्, “नयाँ पुस्ताको माग र मनोभावनालाई राष्ट्रले कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरामा हामी सजग हुनुपर्छ ।”
सहकार्य र छलफलमार्फत साझा समाधान खोज्दै अघि बढ्न सबै जिम्मेवार नागरिकहरूलाई उनले आह्वान गर्दै आफ्नो भनाइ समाप्त गरिन् ।








