१९ मंसिर २०८२, शुक्रबार
जेनजी आन्दोलनपछि नेकपाकाे संवाद

‘जेन-जी आन्दाेलनका उपलब्धी जोगाउन सबैखाले चुनौतीको सामना गर्छाैँ’

प्रकाशित मिति :  27 September, 2025 8:11 pm


दाङ । देउखुरी बहुमुखी क्याम्पस लमही शनिबार राजनीतिक, सामाजिक र युवा सरोकारवालाको साझा जमघटमा बदलियो । नेपाल कम्युनिष्ट पार्टी दाङले आयोजना गरेको “जेनजी विद्रोह : नयाँ परिस्थिति र निकास” विषयक अन्तर्क्रिया कार्यक्रममा दलका नेता, स्थानीय प्रतिनिधि, जेन-जीका अगुवा र नागरिक समाजका सदस्यहरू एउटै मंचमा बसेर आन्दोलनको पृष्ठभूमि, वर्तमान अवस्था र सम्भावित बाटोबारे गहिरो छलफल गरे ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य सन्तोष सीले जेन-जी आन्दोलन उपयुक्त र अपरिहार्य भएको निष्कर्ष निकाल्दै यसका उपलब्धी जोगाउन पार्टी कुनै पनि चुनौतीको सामना गर्न पछि नपर्ने प्रतिबद्धता जनाए ।

उनले भने, “आन्दोलनकाे म्याण्डेटभन्दा बाहिर गएर सरकार गठन गरियो । नेपाल विदेशी शक्तिको क्रियास्थल बनेको छ। भूराजनीतिक चलखेल बढेको छ।”

उनका अनुसार, लामो असन्तुष्टि र नेतृत्वको असफलताका कारण यो विद्रोह जन्मिएको हो । उनले अमेरिका–चीनबीचको शीतयुद्ध र व्यापार युद्धले नेपाललाई पनि अघोषित रणभूमिमा बदलिरहेको टिप्पणी गरे ।

नेकपा दाङका इञ्चार्ज सविन सीले पार्टीले जेनजी आन्दोलनपछिको अवस्था बुझ्न ६ दिने अभियान सञ्चालन गरेको जानकारी दिए ।

उनले विभिन्न दल, निर्वाचन आयोग, सुरक्षा निकाय र जेनजी प्रतिनिधिसँग छलफल गरेर निष्कर्षमा पुग्ने योजना रहेको बताए। “पुराना दलहरूले नैतिकता गुमाइसकेका छन् । अब क्रान्तिकारी शक्तिको ध्रुवीकरण अपरिहार्य छ,” उनले जोड दिए ।

कार्यक्रममा जेनजी प्रतिनिधि रविन जिसीले विद्रोहको मूल कारण भ्रष्टाचार भएको बताए । “पुराना दलहरूले सत्ता कमाउने भाँडो बनाएका छन् । जनतालाई निराशाको गर्तमा पुर्याएका छन् । जबसम्म भ्रष्टाचार अन्त्य हुँदैन, हाम्रो विद्रोह रोकिन्न,” उनले स्पष्ट रूपमा भनाइ राखे ।

स्थानीय सरोकारवालाहरूले पनि आफ्ना विचार राखे । एमाले लमहीका अध्यक्ष रतन केसी, माओवादी केन्द्र लमही अध्यक्ष दीलकुमार श्रेष्ठ, एकीकृत समाजवादी लमही अध्यक्ष शशी परियार, नगर वडाध्यक्ष सागर सुवेदीदेखि शिक्षक, सामुदायिक वनका प्रतिनिधि, खेलकुद क्षेत्रका युवासम्मले आन्दोलनले देखाएका प्रश्नहरूको उत्तर खोज्न नेतृत्व वर्गलाई चुनौती दिए ।

नेकपाका केन्द्रीय सदस्य प्रकाश सीले सहजीकरण गरेको कार्यक्रममा बाेल्दै शिक्षक शरद भट्टराई, वसन्त रिजाल, वसन्त अधिकारी, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन रिजाल, लमही क्रिकेट संघका प्रेम पुलामी, उद्योग परिसर लुम्बिनीका प्रतिनिधि रेशम केसी, युवाहरु आकाश शर्मा, युवराज भण्डारीलगायतले एउटै स्वरमा भने-जेनजी विद्रोह केवल आक्रोशको विस्फोट मात्र होइन, नयाँ राजनीतिक र सामाजिक समीकरण खोज्ने ऐतिहासिक क्षण हो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लिला शाह र प्रेस चाैतारी नेपालका लुम्बिनी इञ्चार्ज टीकाबहादुर बस्नेतले टिप्पणी गरेका थिए ।

लमहीको यो बहसले एउटा स्पष्ट सन्देश दिएकाे छ-विद्रोहले देशको असन्तुष्टिलाई उद्घाटन गरिसकेको छ तर यसको निकास अझै खुलेको छैन । जनताको चाहना र विदेशी शक्तिको दबाबबीच नेपाल कुन बाटो जाने भन्ने प्रश्न अझै अनुत्तरित छ।



प्रतिक्रिया दिनुहोस !