२० मंसिर २०८२, शनिबार

सरकारसँग सम्झौताका लागि जेन-जी युवाद्वारा वार्ता टोली गठन

पहिलो पटक सरकार–आन्दोलनबीच लिखित सम्झौतामा पुग्ने प्रयास
प्रकाशित मिति :  28 September, 2025 11:55 am


काठमाडौँ । जेनजी आन्दोलनरत युवाका केही प्रतिनिधिहरुले सरकारसँग औपचारिक सम्झौता गर्न वार्ता टोली गठन गरेका छन् । टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर रहेका छन् ।

वार्ता टोलीको सदस्यको रुपमा रक्षा बमको नाम पनि उल्लेख भए पनि उनको हस्ताक्षर भने पाइएको छैन । उनले आफू संलग्न नभएको स्पष्ट पारेकी छन् ।

यस टोलीले आन्दोलनरत पक्षको तर्फबाट प्रतिनिधित्व गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको रोहबरमा वृहत राजनीतिक सम्झौता गर्ने निर्णय गरेको छ । सम्झौतामा समावेश हुने एजेण्डाका विषयमा तयार पारिएको प्रारम्भिक पत्र राष्ट्रपति समक्ष पेस गर्ने म्याण्डेट समेत टोलीले पाएको छ ।

गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताको अगुवाइमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरुसँग छलफल गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी फागुन २१ गते आम निर्वाचनको घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनले मुलुकमा ठूलो राजनीतिक उथलपुथल ल्याए पनि अहिलेसम्म आन्दोलनरत पक्ष र सरकारबीच औपचारिक सम्झौताको दस्तावेज तयार भएको थिएन । शनिबार गठित वार्ता टोलीले त्यसैको गृहकार्य अघि बढाउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !