संविधानको पालना र राष्ट्रिय एकताको लागि दशैंले प्रेरणा दिन्छ-उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि थप प्रतिबद्धताका साथ सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
विजया दशमीको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले संविधानले सुनिश्चित गरेका अधिकार, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा अझ प्रगाढ बनाउन यस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरे ।
उनले भने, “विजया दशमीले हामीलाई असत्य, अन्याय र समाजमा बढ्दो ध्रुवीकरण तथा विभाजनविरुद्ध एकजुट हुन प्रेरित गर्ने विश्वास लिएको छु । यो पर्वले हामी सबैमा आत्मशुद्धि, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावना जागृत गराओस् । सत्य, सदाचार, सद्भाव, भाइचारा र सहिष्णुताको मार्गमा अग्रसर रहन हामी सबैलाई प्रेरणा मिलोस् ।”
दसैंँको अवसरमा गरिने पूजापाठ, सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा गीत–सङ्गीतले हाम्रो सांस्कृतिक पहिचानलाई जोगाउनका साथै स्थानीय अर्थतन्त्रलाई सक्रिय बनाउन योगदान पुर्याउने उनको भनाइ छ ।
“नेपाल विविध सांस्कृतिक, धार्मिक, ऐतिहासिक, मौलिक र परम्परागत सम्पदा तथा रीतिरिवाजहरूले समृद्ध मुलुक हो । यहाँका चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक घनिष्ठता, आध्यात्मिक चेतना र सांस्कृतिक निरन्तरताका संवाहकको भूमिका निर्वाह गर्दै आएका छन्,” सन्देशमा भनिएको छ ।
उपराष्ट्रपति यादवले यस पर्वले विगतका कटुताहरूलाई विस्मृत गर्दै एक–अर्कासँग शुभेच्छा साटासाट गर्ने अवसर प्रदान गर्ने र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।








