२० मंसिर २०८२, शनिबार
रास्वपाभित्र परिवर्तनको बहस

पार्टीभित्र आन्तरिक रूपान्तरण अपरिहार्य छ-सहमहामन्त्री आचार्य

प्रकाशित मिति :  1 October, 2025 10:42 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र आन्तरिक रूपान्तरण अपरिहार्य रहेको बताएका छन् । सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उनले रास्वपा मात्र नयाँ दल नभई नेपाली समाजले खोजेको परिवर्तनको “सारथी” बन्नुपर्ने अवस्था आएको धारणा राखेका छन् ।

उनका अनुसार जेनजी आन्दोलनपछिको नागरिक अपेक्षा र राजनीतिक मनोविज्ञानमा आएको तीव्र परिवर्तनलाई सबैभन्दा पहिले स्वीकार्नुपर्नेछ ।

“गतिशील राजनीतिमा विश्वास गर्ने दलले शीर्ष नेतृत्वबाट मात्रै होइन, आधार तहदेखि पनि बहस सुरु गर्नुपर्छ, यसलाई सहभागितामूलक लोकतन्त्रको सूचकका रूपमा लिनुपर्छ,” उनले उल्लेख गरेका छन् ।

आचार्यले रास्वपाको छोटो इतिहासलाई स्मरण गर्दै भनेका छन्, “सुसंस्कृत राजनीतिक अभ्यास र चरित्रसहितको दल निर्माणको यात्रा सुरु भएको जम्मा तीन वर्ष मात्र भएको हो। तर, हाम्रो सुरुवाती बिन्दु पुराना दलहरूले पूर्ण सुधार गरेपछि पुग्ने स्तरभन्दा पनि अगाडि छ ।”

उनको भनाइमा, अब हुने परिवर्तन कार्यान्वयन योग्य विकल्पसहित, योजनाबद्ध कार्ययात्रा र तथ्यपरक मूल्यांकनमा आधारित हुनुपर्छ ।

“लहडका भरमा होइन, गहन छलफल र सबैले अपनत्व लिन सक्ने साझा निष्कर्षमा आधारित यात्रा मात्र रास्वपाको भविष्यलाई सुदृढ बनाउन सक्छ,” उनले लेखेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार आचार्यको टिप्पणी रास्वपाभित्र बढ्दो आन्तरिक बहसलाई संस्थागत स्वर दिन खोज्ने संकेतका रूपमा आएको हो । यो बहसले पार्टीलाई “जनताको आन्दोलनपछिको अपेक्षा पूरा गर्न सक्ने दल” को रूपमा स्थापित गर्ने वा सामान्य दलमै सीमित राख्ने दिशामा निर्णायक भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !