२० मंसिर २०८२, शनिबार

अक्टोबर ९ मा कुनै आन्दोलन छैन-अभियन्ता ढुंगाना

'एजेन्डाबिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिँदैनौं, देशमा बनिसकेको शान्ति फेरि भंग गर्नेवाला छैनौं'
प्रकाशित मिति :  1 October, 2025 2:44 pm


काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा कुनै पनि आन्दोलनका कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । उक्त मितिमा फेरि हिंसात्मक प्रदर्शन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका हल्ला र त्रासबारे ढुंगानाले अस्वीकृति जनाउँदै शान्ति भंग गर्ने कुनै योजना नभएको बताएका हुन् ।

टिकटबमा भिडियो पोस्ट गर्दै उनले भने, “धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ। म प्रष्ट्याउन चाहन्छु- अक्टोबर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन । त्यस्तोमा हामी संलग्न हुँदैनाैं । शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन ।”

उनका अनुसार अहिले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको छ। ढुंगानाले भने, “हामी मुसा मार्न गएका थियौं, बाघ मारेर ल्यायौं । अब बाघ बोकेर ल्याउन सकिँदैन जंगलबाट । त्यस्तो अवस्था थियो । एजेन्डाबिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिँदैनौं। देशमा बनिसकेको शान्ति फेरि भंग गर्नेवाला छैनौं ।”

एजेन्डाबिना कुनै पनि आन्दोलन गर्नु औचित्यपूर्ण नहुने उल्लेख गर्दै उनले माग पूरा नभएमा अन्य ढंगबाट दबाब दिन सकिने बताए। “एजेन्डाबिनाको आन्दोलनको कुनै अर्थ छैन। हामी जेनजी यसमा संलग्न छैनौं,” ढुंगानाले दोहोर्याए।



प्रतिक्रिया दिनुहोस !