छानबिन आयोगप्रति प्रेस चौतारीको शंका : मिडिया ट्रायल बन्द गर्न आग्रह
काठमाडौँ । प्रेस चौतारी नेपालले जेनेजी आन्दोलनका क्रममा भएको गोली प्रहार र त्यसपछि भएका घटनाबारे छानबिन गरिरहेको आयोगको निष्पक्षतामाथि गम्भीर शंका व्यक्त गरेको छ ।
बडादशैंको अवसरमा अध्यक्ष गणेश पाण्डेद्वारा जारी शुभकामना सन्देशसहितको विज्ञप्तिमा चौतारीले भदौ २३ गते आन्दोलनका क्रममा भएको गोली प्रहार र भदौ २४ गते भएको लुटपाट, आगजनी तथा सम्पत्ति नोक्सानीको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ–“जेनेजी आन्दोलनकै नाममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीका व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाटका घटना भएका छन् । अहिले पनि सञ्चारकर्मीमाथि देशभर धम्की आइरहेको अवस्था छ। दण्डहीनताको अन्त्य गर्नुपर्ने चुनौती गम्भीर बनेको छ ।”
चौतारीले छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विभिन्न विषयमा निष्कर्ष निकाल्दै फैसला नै सुनाइसकेको जस्तो देखिएको उल्लेख गर्दै उनको भूमिका नैतिकताको आधारमा शंकास्पद देखिएको दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– “तटस्थ र निष्पक्ष हुनुपर्ने कार्कीले देखाएको पक्षधरता विधिको शासनको खिल्ली उडाउनुका साथै आयोगको निष्पक्षतामाथि प्रश्न खडा गर्ने खालको छ। त्यसैले कार्कीले तत्काल राजीनामा दिनुपर्छ ।”
यस्तै, चौतारीले सरकारले एकातिर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताको राहदानी रोक्का गर्ने सिफारिस गरेर पूर्वाग्रही ढंगले मिडिया ट्रायल चलाएको तर अर्कोतर्फ आन्दोलनपछि भएका विध्वंसकारी घटनामा संलग्न दोषीमाथि कारबाही नगरी प्रहरीलाई रोक लगाएको भन्दै आपत्ति प्रकट गरेको छ।
सरकारको निर्देशनले अपराधीको मनोबल बढाउने र प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप गर्ने काम भएको चौतारीको ठहर छ ।
विज्ञप्तिमा जेनेजी पुस्ताले उठाएका मागप्रति संवेदनशील बन्न, आगामी निर्वाचनको वातावरण निर्माण गर्न र नयाँ पुस्ताको विचार सुन्ने, छलफल तथा संवादमा राजनीतिक दलहरू सक्रिय हुनुपर्नेमा जोड दिइएको छ।








