सडक विभागको आग्रह : यात्राअघि सडक अवस्थाबारे जानकारी लिनुहोस्
प्रकाशित मिति : 2 October, 2025 8:21 am
काठमाडाैँ । सडक डिभिजन कार्यालय भरतपुरले लगातारको वर्षाका कारण यात्रामा सावधानी अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ ।
बुधबार अपराह्नदेखि अविरल वर्षा भइरहेको भन्दै कार्यालयले चाडपर्वको समयमा यात्रा गर्नु अघि सम्बन्धित निकायसँग सम्पर्क गरेर मात्र सडकको अवस्थाबारे जानकारी लिन सुझाव दिएको हो ।
कार्यालयका अनुसार अहिलेसम्मका लागि मुग्लिन–नारायणगढ, मुग्लिन–काठमाडौं, मुग्लिन–पोखरा, नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौंडा र धार्के–सितापाइला सडक खण्ड सहज र राम्रो अवस्थामा रहेका छन् ।
कार्यालयले वर्षा बढ्ने सम्भावनासहित सडकमा पहिरो वा अन्य अवरोध आउन सक्ने भएकाले यात्रु र चालकलाई सजग रहन, ट्राफिक नियमको कडाइका साथ पालना गर्न तथा आवश्यक परे तत्काल नजिकैको सडक कार्यालय वा प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।








